काठमाडौं । नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ । काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो ।
सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।
फूलपाती बढाइँ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, नेपाल सरकारका मन्त्रीहरु तथा सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो ।
फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो ।
गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।
