काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलवारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न शुरु गरेको छ । व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमवार काठमाडौंमा ल्याएसँगै मंगलवारदेखि सहुलियत मूल्यमा बिक्री शुरु गएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रुपमा खसीबोका बिक्री गर्न लागेको बताए । उनले यो वर्ष ढुवानी भाडा महँगो भएपनि मूल्य वृद्धि नगरिएको बताए ।
उनले विगतको वर्षको जस्तै प्रतिकिलो जिउँदो खसीबोका र च्याँग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री गर्न लागेको बताए । उनले कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ५० रुपैयाँ प्रतिकिलो तोकिएको जानकारी दिए ।
उनले खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्गा ल्याएको बताए । खाद्यले ल्याएका खसीबोका स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले स्वस्थ रहेको उनको भनाई थियो । प्रमुख कार्यकारी अधिकृत चन्दले यो वर्ष हेटाँैडा र तुलसीपुरबाट खसीबोका र रसुवाबाट च्याङ्ग्रा ल्याएको बताए ।
उनले सरकारले बजारको मागलाई पूरा गर्न भन्दा पनि बजार मूल्यवृद्धि हुन नदिनको लागि आफैँ खसी बोका खरिद गरेर बिक्री वितरण गरिएको बताए । दसैँमा सबै खसीबोका र च्याङग्रा बिक्री नभए निरन्तर बिक्री गरिरहने उनको भनाई छ ।