सन्धिखर्क । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाका १२ ओटा वडामा सदस्यता वितरण सुरु गरेको अभियान २०८० असोज २९ गते सोमबार पनि विभिन्न पालिकामा निरन्तर छ ।
असोज १४ गते आइतबार नगरपालिकाको ७ नम्बर वडा खाँचिकोटका ८९ वर्षीय कुलबहादुर नेपालीलाई सदस्यता प्रदान गर्दै सो अभियान सुरु भएको थियो ।
जिल्लाको सन्धिखर्क नगपालिका वडा नं. ७ बाट सुरु भएको सो अभियान अझै पनि विभिन्न पालिकामा सञ्चालन गरिएको छ ।
त्यस क्रममा छत्रदेव गाउँपालिकाको वडा नम्बर ७ र ८ मा राजमो जिल्ला अध्यक्ष थम्मन केसी, राजमो जिल्ला कोषाध्यक्ष तथा सन्धिखर्क नगर समितिका अध्यक्ष गोविन्द बिसी, राजमो जिल्ला सल्लाहकार तथा वामपन्थी नेता खिमनारायण पाण्डे, जिल्ला सदस्य तथा सन्धिखर्क–७ का वडाअध्यक्ष दिलदार हुसेन, अखिल नेपाल युवक सङ्घका जिल्ला सदस्य सन्तोष सुनारको टोली सहभागी थियो ।
त्यसगरी, १ नं. वडामा अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला राना, महिला सङ्घकी जिल्ला कोषाध्यक्ष मीना बिसी, केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सचिव कल्पना पोख्रेलको नेतृत्वमा अभियान सञ्चालन भइरहेको छ ।
त्यहाँ ५० वर्षीय लक्ष्मी खनाललाई सदस्यता दिएर राजमोको अभियान सन्चालन गरिएको सचिव पोख्रेलले जानकारी दिनुभयो ।
छत्रदेव गाउँपालिकाकै वडा नं. ८ मा वामपन्थी नेताहरू भोजराज केसी र सावित्रा केसीको सदस्यता नविकरणसँगै अभियान सुरु गरिएको थियो भने छत्रदेव–७ मा पूर्ण श्रेष्ठलाई सदस्यता दिएर अभियान अगाडि बढिरहेको छ ।







