काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा नेपाल वायुसेवा निगमका १० ओटासम्म जहाज खरिद गर्ने बताएका छन् ।
आइतबार मन्त्रीनिवास पुलचोकमा सत्तारूढ दल नेपाल विद्यार्थी सङ्घले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए ।
उनले सबै महङ्गी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए । उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नु नै एक मात्र विकल्प रहेको बताए ।
उनले १० ओटासम्म जहाज नथपी पर्यटकहरू नेपाल नआउने दाबी गरे ।
‘जहाज दुईओटा छ हाम्रो । उड्नुपर्ने २२ ओटा छ । स्टल रुटमा उड्ने दुइओटा छ । हामी सम्पूर्ण शक्ति लगाएर हामी जहाज खरिद गर्ने प्रक्रियामा छौँ । यो वर्षमा हामी नौदसओटा जहाज थप्ने थप्ने । यो नथपी न पर्यटक आउँछन्, न भाडामा देखिएको विसङ्गतिमाथि हस्तक्षेप हुन सक्छ, न सहज ढङ्गले आवागमन हुन सक्छ’ उनले भने– ‘संस्कृति काम गर्ने छैन, सिक्नेचर गरेपछि जेल परिन्छ भन्ने मान्यता छ । कडाइका साथ कानुनभन्दा बाहिर नगई काम गराउँछु ।’
उनले दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताए ।
उनले आजबाट नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गर्ने बताए





