काठमाडौँ । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।
सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरु घरजानका लागि टिकट काट्न नयाँबसपार्कमा जम्मा भएका छन् ।
नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दुई दिनमा झण्डै ४० हजार अग्रिम टिकट बुकिङ भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार असोज २२ गते २४ हजार तीन सय ४० र असोज २३ गते १५ हजार २५ टिकट बुकिङ भइसकेको छ ।
असोज २२ गते बुकिङ भएका टिकटमध्ये कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार दुई सय ३०, गण्डकी प्रदेशका लागि नौ सय ७५, लुम्बिनी प्रदेशका लागि १३ हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार सात सय र सुदूरपश्चिम प्रदेशका लागि छ हजार नौ सय टिकट बुकिङ भएको छ ।
यस्तै, असोज २३ गते कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार एक सय ७०, गण्डकी प्रदेश पाँच सय, लुम्बिनी प्रदेश सात हजार पाँच सय ३५, कर्णाली प्रदेशमा एक हजार छ सय २० र सुदूरपश्चिम प्रदेशमा चार हजार दुई सय टिकट बुकिङ भएको छ ।
पश्चिम नेपालको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, रोल्पा तथा पूर्वी नेपालको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।
उपत्यकामा सुरक्षा योजना
दसैँको समयमा हुने आपराधिक घटनालाई रोक्नका लागि प्रहरीले नयाँबसपार्क क्षेत्रमा छुट्टै सुरक्षा योजना बनाएर लागू समेत गरिसकेको छ । प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक दिनेश गुरुङले बसपार्कमा हुने आपराधिक घटना न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउनुभएको छ ।
प्रहरीले दुई दिनमा नयाँ बसपार्कभित्र आपराधिक क्रियाकलापमा सङ्लग्न पाकेटमार, हुलहुज्जत गर्ने, ठगी, लुटपाटलगायतका घटनामा सङ्लग्न १७ जनालाई नियन्त्रणमा लिएर कारबाही समेत गरिसकेको छ ।
त्यस्तै, प्रहरीले बढी भीडभाड हुने स्थानलाई लक्षित गरी ड्रोन, वडीवान, गोप्रो क्यामराबाट समेत सुक्ष्म अनुगमन गर्नेछ । दसैँमा सुरक्षाका लागि नयाँ बसपार्कमा थप प्रहरी जनशक्तिसमेत तैनाथ गरिसकिएको छ ।
यस्तै, ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा चाडपर्व लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट यात्रु सहायता कक्ष १३ स्थानमा राखिएको बताउनुहुन्छ । अहिले उपत्यकाका विभिन्न स्थानमा १३ वटा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ, आवश्यक परेमा अन्य स्थानमा समेत थप गर्न सकिन्छ, उहाँ भन्नुहुन्छ ।