काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले जेलसजाय काटिरहेका व्यक्तिहरूलाई दिइएको आममाफी विरुद्ध गरेको प्रदर्शनबाट ११ जना पक्राउ परेका छन् ।
२०८० असोज २२ गते सोमबार समाजले राष्ट्रपति भवनअगाडि गरेको प्रदर्शनबाट समाजका संस्थापक सभापति कृष्ण पहाडी र सभापति रामकृष्ण बरालसहित ११ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी (काठमाडौँको गौशाला बस्ने वर्ष ६१), गोकर्णेश्वर–५ बस्ने वर्ष ५३ का पूर्वसभापति उत्तम पुडासैनी, सोही स्थानका वर्ष ४९ का केन्द्रीय सभापति रामकृष्ण बराल, स्याङजा घर भई हाल गौशाला बस्ने वर्ष ३२ की महासचिव रेनुका पौडेल र सोही स्थानका वर्ष ५४ का कोषाध्यक्ष किरण ढकाल रहेका छन् ।
यसैगरी प्रहरीले काठमाडौँको बौद्ध बस्ने वर्ष ४२ का केन्द्रीय सदस्य दिवाकर पुडासैनी, गोकर्णेश्वर–६ बस्ने वर्ष ३५ को भगवान पुडासैनी, ललितपुर बस्ने वर्ष ५६ का सचिव चन्द्रमणि बन्जरा, कागेश्वरी मनोहरा बस्ने वर्ष ४२ का आजीवन सदस्य मधु पुडासैनी, सोही नगरपालिकाका वर्ष ४३ का लक्ष्मण पुडासैनी र वर्ष ३६ की आजिवन सदस्य रीता अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट हालै ज्यानमुद्दामा सजाय काटिरहेका रिगल भन्ने योगराज ढकाललाई आममाफी दिएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।