बुटवल । प्रगतिशील पत्रकार सङ्घ, नेपालका अध्यक्ष श्यामलाल पोखरेलले सङ्घीयता खारेजीका लागि मिसन पत्रकारिता आवश्यक भएको बताउनुभएको छ ।
नेपालमा सङ्घीय प्रणालीसँगै बनेका प्रदेश संरचनाले समाज विवादित भएको र देश आर्थिक रूपले टाट पल्टेकाले अब नेपाली पत्रकारिता प्रदेश खारेजीको अभियानमा मिसनको रूपमा लाग्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
२०८० असोज २१ गते आइतबार बुटवलमा चाँदनी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष पोखरेलले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले प्रदेशका कारण समाजमा सुशासन कायम हुन नसकेको तथा राज्यका सबै निकायमा पारदर्शिता र जवाफदेहिता हराएको बताउनुभयो ।
राजनीति उद्योगका रूपमा फस्टाउँदा र सङ्घीयतासँगै बनाइएका प्रदेश संरचनाका कारण नेपालको राष्ट्रियता कमजोर भएको दाबी गर्नुभयो ।
त्यस्तै, पत्रकार महासङ्घका केन्द्रीय सदस्य भवानिप्रसाद पाण्डेयले पत्रकारितालाई मर्यादित र जवाफदेही बनाउन पत्रकारहरू आफै तयार हुनुपर्ने बताउनुभयो ।
पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले राजनीतिक पूर्वाग्राही र सङ्घीयताले पत्रकारितासँगै समाजलाई विवादित बनाएको बताउँदै सङ्घीयता खारेज गर्नुपर्ने बताउनुभयो ।
पत्रकार रुद्रहरि कुँवरले सङ्घीयताले सबैलाई फलिफाप भएको बताउंँदै सङ्घीय संरचनाले जनतालाई अधिकार दिएको दाबी गर्नुभयो ।
कार्यक्रमका प्रस्तोता प्रकाश भट्टराईले राज्यको हरेक निकाय र हरेक तहमा सुशासन र पारदर्शिता हुनुपर्ने र त्यसका लागि पत्रकारिता क्षेत्रको अमूल्य योगदान रहने बताउनुभयो ।
कार्यक्रममा पत्रकार कृष्ण खनाल, कविन्द्र नेपाल, कपिल ज्ञवालीलगायतले बोल्दै पत्रकारिता विश्वासनीयता र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।