बुटवल । श्रमशोषणको अन्त्य गरी श्रमिक तथा मजुरका अधिकार सुनिश्चित गर्न सरोकारवालाले सरकारसँग माग गरेका छन् ।
श्रमशोषणमा परेको श्रमिक वर्गले कामअनुसारको दाम नपाएको बताउँंदै टे«ड युनियन अधिकार कुण्ठित र श्रम शोषण गर्ने कार्य बन्द हुनुपर्ने उनीहरूको भनाइ छ ।
विश्व ट्रेड युनियन महासङ्घको अठहत्तरौँ स्थापना दिवसको अवसरमा २०८० असोज १३ गते शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालमा व्यवस्था परिवर्तन भए पनि व्यवस्था परिवर्तन गर्ने मजदुर वर्गको अवस्थामा परिवर्तन आउन नसकेको गुनासो गरे ।

देश बनाउने श्रमिक वर्गको सम्मान नहुँदासम्म मुलुकमा भएको व्यवस्था परिवर्तनले सार्थकता नपाउने उनीहरूको तर्क छ ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन अन्टुक (अन्टुक) का अध्यक्ष तथा विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति नेपालका महासचिव लोकराज भुसालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि अवधारणा राख्दै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता राजु भुजेल, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका सचिव कृष्ण बन्जाडे, पेसागत महासङ्घका रुद्रलाल उपाध्याय, अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य भीमलाल काफ्ले, मिनप्रसाद ज्ञवालीलगायतले बोल्नुभएको थियो ।
