बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले बरेङ गाउँपालिकाको बाटाकाचौर साग्दीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
२०८० असोज ५ गतेदेखि २७ गतेसम्म सञ्चालन गरेको जिल्लाव्यापी विशेष सङ्गठनात्मक अभियानअन्तर्गत असोज ९ गते वडा नम्बर ३ मा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षण भेला कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अध्यक्ष तिलक थापा रहनुभएको थियो ।
देशमा राजनैतिक संरक्षणका कारण भ्रष्टाचार संस्थागत बन्दै गएको बताउँदै उहाँले यस्ता विकृति र विसङ्गतिको अन्त्यका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
अनुदानको नाममा आएको एमसिसी सम्झौताले मुलुकको राष्ट्रियता गम्भीर सङ्कटमा परेकाले राष्ट्रियता जोगाउन आन्दोलन अपरिहार्य बनेको बताउनुभयो ।
कार्यक्रममा राजमो जिल्ला सदस्य हीराबहादुर थापा, राजमो बरेङका अध्यक्ष पूर्णबहादुर पुनलगायतले प्रशिक्षण दिनुभएको थियोे ।
सो अवसरमा अखिल नेपाल युवक सङ्घ बागलुङका कोषाध्यक्ष दुर्गा थापा, अखिल नेपाल महिला सङ्घ बागलुङकी सदस्य तथा बरेङ गाउँकार्यपालिका सदस्य तुल्सी बस्याल, राजमो पाल्पाका सदस्य तिलक गाहा, राजमो बरेङका कोषाध्यक्ष शेरबहादुर पुनलगायतको आतिथ्य रहेको थियोे ।
कार्यक्रम वडासमिति अध्यक्ष पृथ्वीबहादुर पुनको अध्यक्षता, सचिव पूर्ण परियारको सञ्चालन र उपाध्यक्ष मनबहादुर पुनको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।
