गणेश अधिकारी, पोखरा ।
५५ वर्षीय जनप्रिय नेता रमेश गुरुङ अल्पायुमै अस्ताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका कास्की जिल्ला सदस्य, अखिल नेपाल जनजाति सम्मेलनका गण्डकी प्रदेश सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को कास्की जिल्ला कोषाध्यक्ष गुरुङको २०८० भदौ २२ गते शुक्रबार निधन भएको हो ।
उहाँको भदौ २३ गते शनिबार कास्कीपोखरा सेती नदीकिनारस्थित रामघाटमा दाहसंस्कार गरिएको छ ।
उहाँको पार्थिक शरीरमा नेकपा (मसाल) कास्कीका पूर्व प्रवक्ता चन्द्रबहादुर केसीले कम्युनिस्ट पार्टीको झन्डा ओढाउनुभएको थियो ।
पूर्व प्रवक्ता केसीका अनुसार उहाँ नेकपा (मसाल) को पनि पार्टी सदस्य हुनुहुन्थ्यो । २०४६ सालमा पार्टी सदस्यता पाउनुभएका गुरुङको पार्टीभित्र टेक नाम क. सागर लामा रहेको थियो ।
भदौ १७ गते पोखरामा मस्तिष्कघात भएपछि पहिले उहाँको उपचार पोखराको मणिपाल अस्पतालमा गराइएको थियो । सो अस्पतालले काठमाडौँ रेफर गरेपछि उहाँको थप उपचार बाँसबारी न्युरो अस्पतालमा भइरहेको थियो । सोही क्रममा भदौ २२ गते उहाँको निधन भएको थियो ।
गुरुङको जन्म २०२५ भदौ १५ गते भएको थियो । उहाँका बुबा पदमसुब्बा गुरुङ र आमा दुवै नेकपा (मसाल) को सङ्गठनमा क्रियाशील हुनुहुन्थ्यो । उहाँकी पत्नी शान्ति गुरुङ हाल अखिल नेपाल महिला सङ्घ कास्कीकी जिल्ला सदस्य हुनुहुन्छ ।
चार दाजुभाइ र एक बहिनीमध्ये उहाँ माहिलो छोरा हुनुहुन्थ्यो । उहाँको परिवारमा पत्नीसँगै छोरा रथ गुरुङ र छोरी रेनिसा गुरुङ हुनुहुन्छ ।
कास्की जिल्लाकै मादी गाउँपालिका–५ गहते गोर्जे रहँदै आउनुभएका गुरुङ पछिल्लो समयमा पोखरा महानगरपालिका–३० सिसुवामा बस्दै आउनुभएको थियो ।
