काठमाडौं । नेपालीलाई अमेरिका पठाइदिने भन्दै विभिन्न देशमा बिचल्ली पार्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका ४ नाथीगाड घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्ने अमेरिकन नागरिक ५२ वर्षीय मृदुर भन्ने हस्त गौतम रहेको प्रहरीले जनाएको छ ।
गौतमले विभिन्न प्रलोभजन देखाई अमेरिका पठाइदिने भन्दै नेपालीलाई युएई, थाइल्याण्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङ लगायतका देशहरुमा पु¥याएर बिचल्ली पार्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
ती देशमा पुर्याएर राहदानी, मोवाइल लगायत जफत गरेर ठूलो मात्रामा पैसा माग्ने एजेन्टले भनेजति पैसा नदिएमा शारीरिक मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचविखन गर्ने, बुझाउने जस्ता कार्य गरेको ब्यूरोले जनाएको छ । बुधबार रुपन्देहीबाट पक्राउ गरेर ल्याएका गौतमलाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको हो ।
पीडितहरुबाट गौतम लगायत उनको समूहले २ करोड भन्दा बढी रकम लिएका छन्। गौतमले हालसम्म २ सय नेपालीलाई अमेरिका पठाइसकेको प्रहरीलाई बयान दिएका छन्।
उनले पठाएका १३ जना भने अन्य देशमा अझै पनि अलपत्र रहेको प्रहरीले बताएको छ। उनले अमेरिका पठाउने नाममा भिजिट भिसामा विभिन्न देशमा पठाउने गरेका थिए।
हस्त गौतम उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर ब्यूरोले अनुसन्धान सुरु गरेको छ।