कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरको सम्मेलन तयारी अन्तिम चरणमा पुगेको छ ।
यही भदौ २५ गते बेलौरीमा हुने छैठौं जिल्ला सम्मेलनको अधिकांश तयारी पूरा भएको राजमो कञ्चनपुरले जनाएको छ ।
बुधबार सदरमुकाम महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी तयारीबारे राजमोले जानकारी दिएको हो । राजमो कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्कीले जिल्लाका नौ वटै पालिकाबाट प्रतिनिधित्व रहने जानकारी दिँदै र प्रतिनिधि पर्यवेक्षक छनौट भइसकेको बताउनुभयो ।
जिल्ला सम्मेलनअघि पालिकास्तरका भेला, सम्मेलन गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनको उद्घाटनअघि बेलौरी बजारमा जुलुश प्रदर्शन हुनेछ । खुला रुपमा उद्घाटन सत्र गर्ने र बन्दसत्र उद्योग वाणिज्य संघको हलमा गर्ने तयारी छ ।
सम्मेलनमा २५० जना प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहने छ । सम्मेलनको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्ने कार्यक्रम छ ।
पत्रकार सम्मेलनमा बोल्दै राजमो केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले अहिले देशको राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न भएको बताउनुभयो । उहाँले भ्रष्टाचार संस्थागत भएकोले त्यसविरुद्ध कठोर कदम चाल्नुपर्ने औँल्याउनुभयो ।
पत्रकारहरुले राखेको जिज्ञासामा नेता भट्टले संघीयता खारेजी अनिवार्य भएको बताउनुभयो ।
जिल्ला सचिव लालबहादुर कुँवरको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश सचिव राजाराम चौधरी, जिल्ला उपाध्यक्ष मन्जु परियार लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।