काठमाडौँ । ६० किलो सुनतस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०८० भदौ १९ गते मङ्गलबार बयान लिएको छ ।
सो प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएपछि दीपेश पुन छानबिनको दायरामा परेका हुन् ।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका महासचिवसमेत हुन् । उनी दावा छिरिङका व्यापारिक साझेदारसमेत रहेको खुलेको छ ।
काभ्रेबाट नेपाली नागरिकता समेत लिएका दावा छिरिङको माओवादीका नेताहरूसँग सम्पर्क देखिएको छ । रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका उनले माओवादीका नेताहरूसँग सम्बन्ध बनाएको देखिएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, दीपेश चार वर्षअघि दावासहित अन्य चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएकोसमेत पाइएको छ । २०७६ माघ १ गते दावाकी पत्नी अमला रोका र तीन चिनियाँ नागरिकसँग दीपेश गोसाइकुण्ड गएका थिए ।
२०७६ को पुसमा नेपालमा बसेर अपराध गरिरहेका चिनियाँ नागरिकमाथि सिआइबीले विशेष अपरेसन चलाएको थियो । त्यस बेला उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर प्रहरीले १२२ चिनियाँ नागरिक पक्राउ गरेको थियो । नेपालस्थित चिनियाँ दूताबासले दिएको सूचनाका आधारमा चलाइएको अपरेसनमा पक्राउको सूचीमा रहेका केही शीर्ष तहका व्यक्तिहरू छुटेका थिए ।
स्रोतका अनुसार, दूतावासले त्यसबेला दावा छिरिङको नाम पनि पासपोर्ट नम्बरसहित पठाएको थियो तर तत्कालीन उपराष्ट्रपति पुन, तत्कालीन आइजिपी सर्वेन्द्र खनाललगायतसँग सम्बन्ध भएका उनीसहित केही व्यक्तिहरू उम्किन सफल भएका थिए ।
६० किलो सुनसँग सम्बन्ध देखिएको भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् ।