काठमाडौं । राष्ट्रिय जनमोर्चाले निलगोविन्द महर्जन (ललितपुर), मेघनाथ विष्ट (रोल्पा) र पूर्णबहादुर थापा (गुल्मी) लाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेका छ ।
भदौ १५ गते बसेको बैठकले सो निर्णय गरेको राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।
यस्तै, बैठकले पूर्वमहासचिव हरि आचार्यलाई सल्लाहकार पदमा चयन गरेको छ भने वैकल्पिक सदस्य बेदीलाल सापकोटा (बागलुङ) लाई केन्द्रीय सदस्य पदमा सहवरण गरेको छ ।
राजमोले कतिपय प्रदेशको इन्चार्जसमेत हेरफेर गरेको छ । राजमो केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार बागमती प्रदेशको इन्चार्जमा केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल, गण्डकी प्रदेशको इन्चार्जमा केन्द्रीय सल्लाहकार अमर थापा र चितवन जिल्लाको इन्चार्जमा केन्द्रीय सदस्य डम्बर पुरीलाई चयन गरिएको छ ।
राजमोले असोज महिनामा देशब्यापी संगठनात्मक अभियान सञ्चालन गर्ने भएको छ । सो अभियान तथा संघर्षलाई सफल पार्न विभिन्न प्रदेश, जिल्ला र स्थानीय तहका बैठक बस्ने केन्द्रीय समितिले निर्णय गरेको छ ।
त्यस अनुसार बागमती प्रदेशको भाद्र १७ गते, सुदूरपश्चिम प्रदेशको भाद्र १८ गते, गण्डकी प्रदेशको भाद्र २५ गते, कर्णाली प्रदेशको भाद्र २२ गते, लुम्बिनी प्रदेशको भाद्र ३० गते बैठक बस्ने ठेगान गरेको छ ।
जसमा बागमती प्रदेशको बैठक बसेर विभिन्न जिल्लाका बैठक तथा भेलाको मिति तय गर्नुका साथै जिल्ला इन्चार्जहरु पनि निश्चित गरेको छ ।