काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन् ।
प्रायः सामाजिक सञ्जालमा अराजक स्ट्याटस लेखेर ‘वाहवाही’ बटुल्दै आएका बालेन्द्रले शनिबार राति ‘चोर सरकार’ भन्दै यस्तो धम्कीपूर्ण स्ट्याटस लेखेका हुन् ।
पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेको रिसमा मेयर बालेन्द्रले सिंहदरबारमा आगो लगाउने धम्की दिएको बुझिएको छ ।
मेयर बालेन्द्रले शनिबार राति लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

तर स्टाटसमा उनले सन्दर्भ खुलाएका छैनन्।
नेकपा एमालेका नेता विष्णु रिजालका अनुसार शनिबारका दिन मेयर शाहकी श्रीमतीले सरकारी गाडी चढ्दा प्रहरीले सोधपुछ गरेको थियो। त्यही रिसमा मेयर शाहले ‘सिंहदरबार जलाइदिने’ धम्की दिएका हुन्।
‘शनिबारको दिन (मेयर शाहकी) श्रीमतीले सरकारी गाडी चढेकोमा प्रहरीले सोधपुछ गर्दा सिंहदबार जलाइदिने महानगरका मेयरको स्ट्याटस’, एमाले केन्द्रीय सदस्य रिजालले आइतबार बिहान चिन्ता प्रकट गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि त्यसमा लाखौँ लाइक, हजारौँ कमेन्ट र सेयर१ ‘नयाँ’ले समाजलाई कहाँ लैजान खोज्दैछन् ? अनि मानिसहरू कहाँ जान चाहिरहेका छन् ? यस ‘मास हिस्टेरिया’को अन्तिम परिणति के होला ?’

ट्राफिक प्रहरीका अनुसार शनिबार राति बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र गतिमा आइरहेको थियो। नियमित चेकजाँचका क्रममा कोटेश्वर ट्राफिक प्रहरी वृत्तको टोलीले उक्त गाडीलाई रोकेर सोधपुछ गरेको थियो। जसमा मेयर शाहकी श्रीमती चढेकी थिइन्।
अबदेखि बिदाको दिन पास लिएर मात्र सरकारी गाडी चलाउन चेतावनी दिन्छन्। उनी घर पुगेर श्रीमान्लाई घटना सुनाएपछि मेयर शाह आक्रोशित भए र त्यस्तो स्टाटस लेखे।