काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले भदौ र असोजमा देशव्यापी प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ ।
अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०८० भदौ १० गते आइतबार जारी प्रेसविज्ञप्तिमा यस्तो जानकारी दिइएको हो ।
गत भदौ ४ गते सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयको जानकारी दिन भन्दै जारी गरिएको प्रेसविज्ञप्तिमा छ वामपन्थी किसान सङ्गठनको बाँकी प्रदेशमा संयुक्त सङ्घर्ष समिति गठन गर्ने तथा कृषिबजेटको न्यून विनियोजन, रोगका कारण पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका विषयमा आवाज उठाउने बताइएको छ ।
त्यसैगरी, वर्षाजन्य समस्याको समाधानका लागि तात्कालिक, मध्यकालिक र दीर्घकालीन समस्या ल्याउन सरकारमाथि दबाब दिन पनि प्रेसविज्ञप्तिमा माग गरिएको छ ।
यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“१. २०८० भदौ ४ गते अखिल नेपाल किसान महासङ्घ (अप्फा) केन्द्रीय समितिको बैठकले नेपाल कम्युनिस्ट पार्टीको तीन अभियान कार्यक्रमअन्तर्गत सदस्यता अभियान, सङ्गठन परिचालन, प्रशिक्षण कार्यक्रम र किसान वर्गसङ्घर्षलाई अघि बढाउने निर्णय गरेको छ । प्रशिक्षण कार्यक्रम निम्नअनुसार रहेको छ ।

२. ६ वामपन्थी किसानहरूको संयुक्त सङ्घर्ष समितिको सङ्घर्षको कार्यक्रमलाई अघि बढाउन बाँकी प्रदेश स्तरका संयुक्त सङ्घर्ष समिति बनाउने निर्णय भएको छ ।
३. वर्तमान सरकारले किसानका लागि बजेट पनि न्यून बनाएको, कृषि उत्पादनसँग जोडिएका कपास विकास समिति जस्ता संस्था भ्रष्टाचारको नाममा प्राथमिकतामा नराखेको, कृषि उत्पादनको विक्रीवितरणका लागि बजार व्यवस्थापनमा नवउदारवादी नीति अवलम्बन गरेकाले पटक पटक आइरहने बाली र पशुपन्छी (पशुमा लम्पिस्किन रोग) मा रोगको महामारीबाट बच्ने र किसानलाई राहत दिने कुनै गुरुयोजना नभएकाले यसका विरुद्ध आम किसानलाई गोलबन्द गरी किसानको वर्गीय सङ्घर्ष अगाडि बढाउने कुरामा जोड दिने निर्णय गरेको छ ।
४. अहिले वर्षात्को समयमा बाढी, पहिरो, अतिवृष्टि, खण्डवृष्टि, डुबानबाट घरबस्ती र खेती नै सखाप पारेको आदि किसानका यस प्रकारका समस्याको तात्कालिक, मध्यकालिक र दीर्घकालीन योजना नबनाउने नेपाल सरकारको यस प्रकारको गलत नीतिको विरुद्ध सङ्घर्ष अघि बढाउने निर्णय लिएको छ ।
४. गाईभैंसीमाथि लागेको लम्पिस्किन रोगबाट पीडित भएका किसानलाई तुरुन्तै राहत प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय भएको छ ।”