काठमाडौं । पशुपति दर्शन गरेर फर्किएका भारतीय तीर्थयात्री चढेको बस बारामा दुर्घटनाग्रस्त भएको छ ।
बारा र मकवानपुर जिल्लाको सिमानामा रहेको चुरियामाई मन्दिरनजिकै तीर्थयात्री बोकेको बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा बुधबार राति करिब १ बजे दुर्घटना भएको हो।
मृतक ७ जनाको सनाखत भएको छ। जसमा ६ जना भारतीय र एक नेपाली छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेहरुमा भारत राजस्थान बस्ने ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुर्वेदी, ६५ वर्षीय श्रीकान्त चतुर्वेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मीरादेवी र महोत्तरी लोहारपटी नगरपालिका ५ बस्ने ४१ वर्षीय विजय लाल पण्डित छन्।
चालकसहित २७ यात्रु सवार बस चुरियामाई मन्दिर नजिकैबाट करिब १०० मिटर दक्षिणतर्फको खोलामा खसेको हो।
दुर्घटनामा परी १७ जना घाइते भएका छन्। उनीहरुमध्ये १५ जनाको हेटौंडा अस्पताल, १ जनाको चुरेहिल अस्पताल, १ जनाको सहकारी अस्पताल र १ जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेकामध्ये धनुषाको मौवा गाउँपालिका १८ जनकपुर बस्ने ४१ वर्षका घुरन मण्डल, महोत्तरी लोहारपति नगरपालिका–५ बस्ने २६ वर्षीय जसबेन्दर पासवान र महोत्तरी जलेश्वर नगरपालिकाका ३८ वर्षीय बिहारी मुखीया गरी तीन जना नेपाली र बाँकी सबै राजस्थान निवासी छन् ।