टेकराज भुसाल ।
सन्धिखर्क । खनाल ब्रदर्स एन्ड कन्स्ट्रक्सन अर्घाखाँचीका सञ्चालक तथा युवा व्यवसायी कविराम खनालले आफ्नो जन्मदिनको अवसर पारेर दीर्घ बिरामीलाई आर्थिक सहयोग गर्नुभएको छ ।
खनालले विभिन्न स्वास्थ्य समस्यामा परेका आठ जनालाई बेग्लाबेग्लै राशिको रकम सहयोग गर्नुभएको हो ।
भाद्र ४ गते परेको आफ्नो जन्मदिनको अवसरमा युवा व्यवसायी खनालले क्यान्सरबाट पिडित भई हाल भारतमा उपचार गराइरहनुभएका सन्धिखर्क नगरपालिका–८ का नारायण पराजुलीलाई २० हजार, रुखबाट लडेर घाइते भई उपचार गराइरहनु भएकी भूमिकास्थान नगरपालिका–४ की अस्मिता रोकायलाई १० हजार, लिभरको समस्या देखिएका मालारानी ९ का केशव नेपालीलाई ५ हजार, दुबै मृगौला फेल भएकी सन्धिखर्क नगरपालिका–११ कि पुष्पा खनाल (कुँवर) लाई पाँच हजार, मृगौला फेल भई आँखा नदेख्ने सन्धिखर्क नगरपालिका–१० कि शर्मिला गन्धर्भलाई पाँच हजार, पाठेघरको क्यान्सरले पीडित भूमिकास्थान नगरपालिका–५ कि गीता गैरे (बेलवासे) लाई पाँच हजार र प्यारालाइसिस बिरामी सन्धिखर्क नगरपालिका–१ का कृष्णबहादुर विकलाई पाँच हजार सहयोग हस्तान्तरण गर्नुभएको हो ।
साथै खनालले रु ५० हजार बराबरको कन्सन्टेटर मेसिन किनेर आवश्यक पर्दा बिरामीलाई उपलब्ध गराउने गरी हाल एक जना बिरामीलाई सहयोग गर्नुभएको छ ।
केही दिनको लागि अक्सिनज लिनुपर्ने अवस्थाका बिरामीलाई मेसिन किन्न महङ्गो पर्ने हुँदा र त्यस्ता दृष्टान्त आफैले देखेको भएर अस्थायी अक्सिजन प्रयोगकर्तालाई ध्यानमा राखेर उक्त मेसिन किनेको खनालले बताउनुभयो ।
युवा व्यवसायी खनाल आफ्नो व्यवसायसँगै सामाजिक कार्यमा अग्रपङ्क्ति रहेर काम गर्दै आउनुभएको छ ।