मुसिकोट । पशु अस्पताल तथा पशुसेवा कार्यालयले दुधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दुध उत्पादन बढेको छ । कार्यालयले दुध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिने गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा मात्रै जिल्लामा ५४ लाख ४४ हजार छ सय लिटर दुध उत्पादन भएको थियो । दुधमा प्रतिलिटर रु पाँचका दरले किसानलाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराइएपछि जिल्लामा दुध उत्पादन वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार आव २०७९/८० मा ४५ दलित, ४६ जनजाति र अन्य पाँच सय ४० गरेर छ सय ३१ किसानलाई दुधमा अनुदान दिइएको थियो । निवेदन दिएका छ सय ३१ किसानले अनुदान पाएको उक्त कार्यालयका निमित्त प्रमुख शर्माले जानकारी दिनुभयो । दुध बिक्री गरेका आधारमा किसानले रु आठ सय ७५ देखि रु ४५ हजारसम्म प्रोेत्साहन रकम पाएको उहाँको भनाइ थियो ।
उक्त कार्यालयले दिने अनुदान रकम किसानको खातामा पठाउने गरिएकोे छ । अनुदान न्तरगत छ सय ३१ किसानले रु ३५ लाख ५८ हजार प्राप्त गरेका थिए । जिल्लामा उत्पादन भएको केही दुध जिल्ला सदरमुकाम खलङ्गा, सोलावाङलगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ भने । बाँकी दुध रुकुमपूर्व, सल्यान, नेपालगञ्जमा समेत निकासी हुने गरेको छ ।
जिल्लाको मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा किसानले राम्रैसँग दुध उत्पादन गर्दै आएका छन् । आठबिसकोट नगरपालिका र बाँँफीकोट गाउँपालिकामा भने कम दुध उत्पादन हुने गरेको निमित्त कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
दुध सङ्कलन केन्द्र, डेरी, पशु अस्पताल तथा पशुसेवा कार्यालयमा उपलब्ध विवरणअनुसार जिल्लामा ५४ लाख ४४ हजार छ सय लिटर दुध उत्पादन भएको देखिन्छ । गाउँमै उत्पादन भएर गाउँमै खपत भएको रेकर्ड भने नभएकाले योभन्दा धेरै दुध जिल्लामा उत्पादन हुने गरेको कार्यालयको भनाइ छ ।
किसानलाई दुधमा प्रोत्साहन उपलब्ध गराउँदा जिल्लामा अघिल्ला वर्षभन्दा दुई दशमलव ६३ प्रतिशतले दुध उत्पादनमा वृद्धि भएको पशु अस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ । (रासस)





