काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको एक सय किलो सुन नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखामा जोख्न थालिएको छ ।
सोमवार नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखामा ब्रेक सुको लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर जोख्न थालेको हो ।
राजस्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गरेको सुनको परिमाण यकिन गर्न सुन पगाल्ने प्रक्रिया सुरु गर्दा महाशाखाले एउटा ब्रेकसु खोलेर डेमो देखाएको छ ।
टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन पगालेर जोख्ने काम सुरु गरेको बताए । उनले सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, राष्ट्र बैङ्कका केन्द्रिय प्रतिनिधि र राजस्व अनुसन्धान विभागसहित निष्पक्ष रूपमा सुन जोख्ने काम गरिने बताए ।
उनले ब्रेकसु र सुन छुट्याएपछि सुनलाई गालेर जोखिने बताए । उनले एउटा ब्रेकसु खोलेर डेमो गर्दा २० ओटा सुन भेटिएको बताए ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको ब्रेकसुसहितको सुनको तौल १५५ रहेको छ । सुन छुट्याइसकेपछि सिआइबी, राजस्व विभाग, नेपाल राष्ट्र बैङ्क र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुनेछ । त्यसपछि गुणस्तर जाँच तीन दिनमा सक्ने छ ।