बागलुङबजार । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १७ घण्टादेखि अवरुद्ध छ ।
आयोजनाको बागलुङ खण्डमा पहिराले सडक अवरुद्ध बनाएको हो ।
बागलुङ नगरपालिका–१० दब्ल्याङमा बिहीबार साँझ साढे ५ बजे माथिबाट झरेको पहिराले सडक अवरुद्ध भएको थियो । अवरुद्ध बनेको सडक अहिलेसम्म खुलेको खुलाउन सकिएको छैन ।
सडक खुलाउन बागलुङ नगरपालिकाको जेसिबी प्रयोग गरिएको छ । लेदोसहितको पहिराले सडकमा ठुलो क्षति पुर्याएको हुँदा केही सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ चल्ने यातायात ठप्प भएका छन् । दक्षिण बागलुङको कुश्मिसेरा, बलेवा, बरेङलगायतका ठाउँबाट बागलुङ, पोखरा, काठमाडौँ जाने यातायात सडकमै अलपत्र परेका छन् । यस खण्डमा वर्षा हुँदासाथ पहिरो झरी रहँदा दक्षिण भेगमा हजारौँ यात्रु मर्कामा पर्दै आएका छन् ।
पहिरोको दीर्घकालीन समाधान खोज्नका लागि स्थानीयवासीले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग माग गरिरहेका छन् । अप्ठ्यारो भूगोल हुँदा समस्या समाधानमा निकै कठिनाइ भएको छ । (रासस)