काठमाडौँ । तीन महिनामा १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई २०८० साउन २० गते शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो माउन्ट केटु हिमालको सफल आरोहण गर्नुभएको थियो । आरोहण सकेर नेपाल फर्कने क्रममा उहाँहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले विमानस्थलमा स्वागत गर्नुभयो ।
सो अवसरमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घलगायत विभन्नि पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवम् आरोहीको विमानस्थलमा उपस्थित थियो ।
कीर्तिमानी आरोहीको स्वागत तथा सम्मानमा सरकारी प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित भव्य स्वागत गरिएको सङ्घका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिनुभयो ।
पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को हरिला र शेर्पाले साउन ११ गते बिहान १०:४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानाएको छ ।
उक्त हिमालको सफल आरोहणसँगै क्रिस्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ ओटा हिमाल तीन महिनामा सफल आरोहण गरी कीर्तिमान बनाएको कम्पनीको भनाइ छ ।
उहाँहरूले तीन महिनामा १४ ओटै हिमाल आरोहण गर्नुभएको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिनुभयो । यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गर्नुभएको थियो ।
हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राख्नुभएको थियो । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ ओटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बन्नुभएको थियो ।
हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गासरब्रम–२, गासरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसक्नुभएको छ ।