मस्को । भारतमा रुसको सहयोगमा विद्युतीय रेल बनाइने भएको छ ।
लामो दुरीमा सञ्चालन हुने एक सय २० ओटा रेल बनाउन रुसको सबैभन्दा ठुलो रेलनिर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड (आरभिएनएल) माझ सम्झौता भएको हो ।
यात्रीलाई सुत्ने सुविधाका साथ निर्माण गरिने एउटा रेलको मूल्य एक अर्ब ४० करोड पर्ने छ । “बन्दे भारत” नामका ती रेलका अधिकांश डिब्बामा वातानुकूलन प्रणाली पनि जडान हुने छ । दुवै समूहले लगानी गर्ने कम्पनीको नाम किनेट रेलवे सोलुसन्स लिमिटेड हुने छ । कम्पनीमा आरभिएनएलको २५ प्रतिशत लगानी हुने बताइएको छ ।
महाराष्ट्रको लातुरामा कम्पनी स्थापना गरेर निर्माण प्रारम्भ गरिने छ । सम्झौताअनुसार अबकोे पाँच वर्षभित्रमा रेल बनाइसक्नुपर्ने छ । उक्त कम्पनीले नै ३५ वर्षसम्म कारखानाका उपकरण तथा रेलको मर्मत सम्भार गर्ने छ ।
उलानउडे लोकोमोटिभ प्लान्टको भ्रमणका क्रममा ट्रान्समासहोल्डिङका महानिर्देशक किरिल लिपालाई रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले सम्झौताबारे जानकारी दिनुभएको हो ।
ट्रान्समासहोल्डिङका महानिर्देशकका अनुसार भारतीय रेलवेका सहकर्मीसँग मिलेर परियोजनाको अर्को चरणको काम शीघ्र प्रारम्भ गरिने छ ।
ट्रान्समासहोल्डिङ आधुनिक रेल निर्माणमा ख्यातिप्राप्त कम्पनी हो । यसले विश्वका ३० देशमा रेल डिजाइन, इन्जिन र अन्य उपकरण निर्माण तथा आपूर्ति गर्दै आएको छ । (रासस/एएनआई)