जनकपुरधाम । साउनको दोस्रो सातासम्म मधेस प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ ।
मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रूपमा चिनिने मधेस प्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म ११ प्रतिशत मात्र धानरोपाइँ भएको थियो ।
समान्यतया रोपाइँ सम्पन्न भइसक्नुपर्ने समयमा आइपुग्दासमेत मधेसका आठ जिल्लामा समग्रमा लगभग ४१ प्रतिशत खेतमा रोपाइँ हुन नसकेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कमलदेव कुशवाहाले जानकारी दिनुभयो ।
देशको कुल गार्हस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । मधेस प्रदेशमा सबैभन्दा बढी धान नै उत्पादन हुुँदै आएको थियो तर एक दसकयतादेखि उत्पादनमा कमी हुँदै आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कअनुसार देशको कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुने गरेको छ ।
प्रदेशका आठओटै जिल्लामा गरी कुल पाँच लाख ७४ हजार तीन सय ६० हेक्टर खेतीयोग्य जमिन रहेकोमा चार लाख पाँच हजार चार सय ५० हेक्टर क्षेत्रफल धान रोपाइँयोग्य जग्गा रहेको छ । अहिलेसम्म मात्र दुई लाख ३८ हजार चार सय ४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन नसकेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिनुभयो ।
यसपाली धनुषासहित मधेस प्रदेशको जिल्लामा लामो समयदेखि वर्षा नै नभएका कारण सिँचाइका लागि निर्मित नहरमा पानी आएको छैन । भूमिगत सिँचाइको वैकल्पिक व्यवस्था गरिएको क्षेत्रमा जसोतसो धान रोपाइँ भए पनि नहरबाट सिँचाइ हुने क्षेत्र साउनको दोस्रो साता बिते पनि सुक्खा छ ।
यस प्रदेशमा साना तथा ठूला सिँचाइका स्रोतसमेतलाई आधार मान्ने हो भने तीन लाख ५७ हजार सात सय ९३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको व्यवस्था रहेको कृषि निर्देशनालयले जनाएको छ । खडेरीले यस वर्ष मधेस प्रदेशमै धानखेती प्रभावित भएको छ । अधिकांश खेत सिँचाइको अभावमा बाँझै छ भने रोपाइँ भइसकेको खेत पनि सुकेर चिरा पर्न थालेको छ ।
बोरिङमा विद्युतीय मोटर जडान गरी रोपाइँ भएको खेतमा पनि पर्याप्त पानी नपुगेर बाली सप्रिन नसकेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ का किसान दिपो यादवले दु:खेसो गर्नुभयो ।
‘पाँच बिगाह धानखेती गर्ने तयारी थियो । दुई बिगाहमा मोटरले पानी लगाएर रोपाइँ त गरेँ तर खेतमा पानी जमिरहन सक्ने अवस्था छैन । बाँकी दुई बिगाहमा कहिलेसम्म रोपाइँ गर्ने हो भन्ने ठेगानै छैन’ धनुषाको धनुषाधाम नगरपालिकाका किसान फुलगेन महतोले भन्नुभयो ।
प्रदेश कृषि निर्देशनालयको तथ्याङ्कअनुसार मधेस प्रदेशमै सबैभन्दा बढी रोपाइँ सप्तरीमा भएको छ । सप्तरीमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ भने धनुषामा जम्मा २७ प्रतिशत रोपाइँ भएको कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिनुभयो ।
कुशवाहाका अनुसार बारामा ७५, रौतहटमा ७०, महोत्तरीमा ६० र पर्सामा ५५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सर्लाही र सिरहामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ । धान उत्पादनको दृष्टिकोणले मधेसको सबैभन्दा बढी धान फल्ने जिल्लाको रूपमा धनुषा चिनिन्छ ।
प्रदेश कृषि निर्देशनालयको रेकर्डअनुसार सबैभन्दा बढी धनुषा र सबैभन्दा कम रौतहटमा धान उत्पादन हुने गरेको छ । धनुषामा दुई लाख ५१ हजार एक सय ८६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ ।
रौतहटमा एक लाख ३४ हजार सात सय ६० मेट्रिक टन, बारामा दुई लाख ४८ हजार छ सय ६३ मेट्रिक टन, पर्सामा एक लाख ९१ हजार नौ सय २५ मेट्रिक टन, सप्तरीमा एक लाख ८३ हजार आठ सय ८८ मेट्रिक टन, सर्लाहीमा एक लाख ७३ हजार छ सय १८ मेट्रिक टन, सिरहामा एक लाख ७२ हजार एक सय ७६ मेट्रिक टन र महोत्तरीमा एक लाख ३८ हजार आठ सय २९ मेट्रिक टन धान उत्पादन हुने अनुमान निर्देशनालयको छ । (रासस)