काठमाडौँ । राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विरोध कायम राखेको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अघि बढ्न नसक्ने अडानसहित २०८० साउन १८ गते बिहीबारको बैठकमा पनि संसद् अवरोध गरेको हो ।
बैठकमा बोल्दै नेकपा (एमाले) राष्ट्रियसभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । उनले विमानस्थलबाट त्यति ठुलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताए ।
उनले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न भए पनि ती व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । उनले सरकार यस प्रकरणमा गम्भीर हुन नसकेको बरु अहिले नयाँ तथ्यहरू बाहिर आइरहेको बताए ।
उनले सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै सरकार दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएसम्म संसद् अघि बढ्न नसक्ने स्पष्ट पारे ।
साउन २२ गते दिउँसो १ बजे बस्ने गरी बिहीबारको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।