धनगढी । टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निद्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासि हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो ।
कालीदेवीले केही सोच्नै सकिनन् । हात्तीले उहाँको ठाटीघरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो ।
‘हात्तीले पछाडि घरमा हान्न थाल्यो । भूकम्प आयो कि भन्ने सोचेँ’ कालीदेवीले भनिन्– ‘घरका भित्ता भत्कन थालेपछि टर्च बालेर हेर्दा हात्ती मच्चिएको थियो । हामी घरमा चार जना थियौँ । छोरी, छोरा र १३ वर्षको नाती । बालबच्चालाई कसरी उठाएर सुरक्षित स्थानसम्म पुर्याए थाहा छैन ।’
कालीदेवीका पति दानबहादुर सुनार रोजागारीका लागि भारतमा छन् ।
हात्तीले पछाडितिर भत्काउन थालेपछि अगाडिपट्टीको ढोकाबाट उहाँको परिवार भाग्न सफल भएको थियो । कालीदेवीका अनुसार हात्ती अगाडितिरबाट आएको भए भाग्न सकिने थिएन ।
‘हात्ती देखेपछि आँखा देखिनँ† डरले मुटु काप्यो† ज्यान जोगाउन ढोका खोलेर भाग्यौँ’ उनले भनिन्– ‘यसरी भागिएछ कि भाग्दा भाग्दै बर्दिया जाने पुलसम्म भागिएछ । हामी कराउँदै भागेका थियौँ । खुट्टामा चप्पल पनि लगाएनौँ, ज्यान मात्र सम्झियौँ ।’
परिवार कराउँदै दौडिन थालेपछि गाउँले हल्ला सुनेर हात्ती भगाएका दानबहादुरले बताए । राजीपुरका स्थानीय हात्तीको त्रासका कारण रातिको समयमा सुत्न मुस्किल भएको बताउँछन् । यहाँ जङ्गली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको स्थानीयको भनाइ छ ।
विगतमा पनि यहाँ हात्तीले नोक्सानी गर्ने गरेको स्थानीय बताउँछन् । यसरी पटक पटक नोक्सानी पुर्याउँदा पनि स्थानीय सरकारले चासो नदेखाएको उनीहरूको गुनासो छ । गाउँमा हात्तीको आक्रमण बढिरहेकाले नागरिकको सुरक्षाका लागि स्थानीय सरकारले सडकबत्तीको व्यवस्था गर्नुपर्ने हरी स्थानीय सुनारले बताउनुभयो ।
‘अहिलेसम्म चार घर हात्तीले भत्काइसकेको छ’ उहाँले भन्नुभयो– ‘वर्षौँदेखि यही बसिरहेका हामी कहाँ जानु ? त्रासमा पनि कसरी बस्ने होला ?’
हात्तीले क्षति गरेको स्थानको वडाध्यक्ष दीपक चौधरीले अनुगमन गरेका छन् । अनुगमनका क्रममा एउटा घर, धानबालीमा क्षति हुनुका साथै भकारीमा रहेको धान खाएको उनले बताए । क्षतिको एकिन विवरण सङ्कलन गरी त्यहीअनुसार राहत उपलब्ध गराइने वडाध्यक्ष चौधरीले जानकारी दिए ।
‘हात्ती तथा जङ्गली जनावरको जोखिम छ; सुरक्षित हुनुस् भनी स्थानीयलाई नियमित सूचना जारी गरिरहेका छौँ† उहाँले भन्नुभयो– ‘जङ्गल बस्ती नजिक भएकाले यहाँका नागरिक असुरक्षित छन् । क्षति भएका परिवारलाई राहत दिन पालिकाले सक्दो सहयोग गर्ने छ ।’ (रासस)