काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले आफ्नो ज्यान दिएर देशको सीमा रक्षा गर्नेहरुलाई राष्ट्रले कदर गर्न नसकेको बताउनुभएको छ ।
शनिबार राजधानीमा आयोजित अखिल (छैठौं) का पूर्वअध्यक्ष एवम् अधिवक्ता विमल पोखरेलको निबन्ध–नियात्रा संग्रह ‘धरतीको इन्द्रेणी’ सार्वजनिक गर्दै पौडेलले यस्तो बताउनुभएको हो ।
सो पुस्तकमा उल्लेख गरिएका सहिद गोविन्द गौतमलगायत सीमा रक्षाका लागि लड्ने योद्धाहरुबारे चर्चा गर्दै पौडेलले सिमानाका सिपाहीको राज्यले आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो ।
‘बलिदानीपूर्ण भावनाले ओतप्रोत जनताले सीमा रक्षाका लागि गरेको संघर्ष साँच्चै नै महत्त्वपूर्ण छ’ पौडेलले भन्नुभयो, ‘तर, यस्तो बेलामा पनि राज्यले उनीहरुलाई उचित सम्मान दिन नसकेको अवस्था छ ।’
उहाँले जीतगढी किल्लाले राष्ट्र जोगाउन महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गर्नुभयो ।
सो पुस्तकमा पोखरेलले संघीयताको विरोध र राष्ट्रयता रक्षाका लागि राष्ट्रिय जनमोर्चा र अखिल छैठौंले चलाएका आन्दोलनबारे चर्चा गर्नुभएको छ । सो प्रशंगमा पौडेलले अखिल नेपाल महिला संघले महिला अधिकार र सम्पत्तिमा समान अधिकारका लागि खेलेको भूमिका बारे पनि स्मरण गर्नुभयो ।
साथै, पौडेलले नयाँ पिँढी आत्मकेन्द्रित हुँदै गएको राष्ट्र र राष्ट्रियताको भावना कमजोर बनिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
फरक प्रशंगमा उहाँले अहिले देशमा प्रतिगमनको खतरासँगै साम्राज्यवादी खतरा पनि बढेर गएको बताउनुभयो । जनताले लडेर ल्याएको लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि जनता चनाखो हुनुपर्नेमा पौडेलले जोड दिनुभयो ।
उपाध्यक्ष पौडेलसहित प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष मातृका पोखरेल, प्रज्ञा परिषदका सदस्य डा. कौशिला रिसाल र पत्रकार अरुण बरालले पुस्तक सार्वजनिक गर्दै पुस्तकबारे टिप्पणी गर्नुभएको थियो ।
१७५ पृष्ठको सो पुस्तकमा २३ वटा निबन्धन तथा नियात्रा समावेश छन्। पुस्तकको मूल्य ३२० रुपैयाँ राखिएको छ ।
अखिल (छैठौं) का पूर्वअध्यक्ष पोखरेलले पुस्तकमा राजनीतिक गतिविधिमा संलग्न हुने क्रममा देशका विभिन्न भौगोलिक स्थानमा, संस्कृृति, राजनीतिक तथा धार्मिक अवस्थाको वर्णन गर्नुभएको छ । साथै, अखिल (छैठौं) ले खेलेको भूमिका, संघीयताविरुद्धको आन्दोलन लगायतका विषयमा चर्चा गरिएको छ ।
पोखरेलको यो पाँचौं पुस्तक हो। उहाँका यसअघि शिक्षाको राजनीतिक स्वरुप, ज्ञानको पाइला, नेपालको पूर्वीय दर्शनको शासन र नेपालको विद्यार्थी आन्दोलन अखिल छैठौँको इतिहास प्रकाशित छन्।
