कावासोती । नवलपुरमा राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलन आगामी असोज ६ गते कावासोती बजारमा हुने भएको छ ।
२०८० साउन १३ गते शनिबार रजहरमा सम्पन्न विस्तारित बैठकले सो निर्णय गरेको हो ।
विस्तारित बैठकको प्रमुख अतिथि राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी हुनुहुन्थ्यो ।
सो अवसरमा नेता अधिकारीले नेकपा (मसाल) को ऐतिहासिक तीन अभियान, समसामयिक राजनीतिक अवस्थामा पार्टीको भूमिकालगायतका विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष दीपक पाण्डेको अध्यक्षता तथा सचिव गिरबहादुर महतराको सञ्चालनमा सम्पन्न बैठकमा सम्मेलनको कार्यक्रमसम्बन्धी प्रस्ताव अध्यक्ष दीपक पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, राजमो केन्द्रीय सदस्य तथा भूमि आयोगका जिल्ला सदस्यभागिरथ भट्टराई र जातीय समता समाजका केन्द्रीय सदस्य लक्ष्मी विकको पनि आतिथ्य रहेको थियो ।
सम्मेलनमा मानबहादुर लामा, आनन्द शर्मा, ऋषि कँडेल, मानबहादुर रानाभाट, शशि पैडेल, प्रेम भण्डारी, चन्द्र केसी, रूपनारायण महतोलगायतका साथीहरूको सुझाव प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलन सफल पार्न जिल्ला अध्यक्ष दीपक पाण्डेको संयोजकत्वमा ५१ सदस्सीय सम्मेलन तयारी तथा प्रचारप्रसार समिति, सचिव गिरबहादुर महतरा, शालिकराम सापकोटा र मानबहादुर रानाभाट रहेको आर्थिक समिति, भागिरथ भट्टराई, गिरबहादुर महतरा, डम्मर केसीसमेतको व्यवस्थापन समिति, त्यस्तै प्रतिवेदन, प्रचार समितिलगायतका विभिन्न जिम्मेवारी विभाजन भएको समाचारमा उल्लेख छ।
बैठकले जिल्ला सम्मलनपूर्व मध्यविन्दुको नगर सम्मेलन आगामी साउन २० गते, कावासोती नगर सम्मेलन साउन २७ गते, गैँडाकोट नगर सम्मेलन भदौ २ गते, देवचुली र हुप्सेकोट पालिका सम्मेलन भदौ ९ गते र विनयत्रिवेणीको सम्मेलन भदौ १६ गते गर्ने निर्णय भएको बताइएको छ ।