याङ्गुन । सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ ।
नेसनल लिग फर डेमोक्रेसीका एक अधिकारीका अनुसार सोमबार राति नेत्री सुकीलाई उच्चस्तरीय परिसरमा सारिएको हो ।
उहाँले तल्लो सदनका सभामुख सभामुख तीखुन म्याटसँग भेटवार्ता पनि गर्नुभएको छ । उहाँले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन् । यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उहाँसँग भेटवार्ता गरेका थिए ।
म्यान्मारमा विकसित पछिल्लो घटक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेत्री सुकीलाई राजधानीको नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा उहाँलाई सारिएको छ ।
निर्वाचित नेत्री सुकीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।
हिरासतमा रहनुभएकी ७८ वर्षीय नोबेल पुरस्कार विजेता सूचीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ । उहाँमाथि भ्रष्टाचार, गैरकानुनी रूपमा वाकिटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेकोलगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ । (रासस एएफपी)