विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि चार दिनभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्नेलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नका लागि २०८० साउन १२ गते शुक्रबार दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुख खापुङले यसका लागि यही साउन १६ गते मङ्गलबार अपराह्न ५ बजेसम्मको समय तोक्नुभएको छ ।
गत असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतले साउन ११ को पूर्ण इजलासबाट जुन विन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तबरले सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।
“विसं २०८० साउन १७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नु भन्ने परमादेश जारी भएकाले सोही आधारमा प्रदेश प्रमुखले आह्वान गरिएको हो” जारी विज्ञप्तिमा भनिएको छ । (रासस)