भोजपुरबजार । लम्पिस्किनबाट गोरु मरेपछि पूर्वी पहाडी जिल्ला भोजपुरमा रोपाइ प्रभावित भएको छ ।
समयमा पानी नपरेको र लम्किस्किनबाट गोरु मरेपछि यहाँ ६५ प्रतिशत मात्र धानरोपाइँ भएको हो ।
कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्रीले जिल्ला हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको बताउनुभयो । उहाँका अनुसार गत वर्ष अहिलेको समयसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न हुने गर्दथ्यो ।
‘समयमा वर्षात् नभएको कारण रोपाइँमा त ढिलाइ थियो नै, फेरि पशुचौपायामा देखिएको लम्पिस्किनका कारण पनि रोपाइँमा यस वर्ष ढिला भयो’ उहाँले भन्नुभयो ।
जिल्लामा १८ हजार ९२ हेक्टरमा धानखेती रोपाइँ हुन्छ भने जिल्लाको कुल खेतीयोज्ञ क्षेत्रफल ६२ हजार दुई सय ९९ छ । कार्यालयको तथ्याङ्कअनुसार अहिलेसम्म करिब ११ हजार सात सय ६० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जिल्लामा अझै पनि ३५ प्रतिशत धान रोपाइँ हुन बाँकी छ ।
कृषक कुमार खड्काले समयमा वर्षात् नहुँदा र लम्पिस्किन रोगबाट गोरु मरेपछि रोपाइँ गर्न ढिला भएकोे बताउनुभयो । उहाँले भन्नुभयो– ‘समयमा पानी परेन । फेरि रोपाइँ गर्ने समयमा गोरुमा पनि रोग देखा पर्यो ।’
आकाशे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता रहेका कृषकलाई भने रोपाइँमा बढी समस्या हुने गरेको छ ।
‘रोपाइँका लागि कृषक खेतीमा व्यस्त थिए । पानीको समस्या भए पनि कुलो भएको ठाउँमा त रोपाइँ गर्न सकिन्थ्यो । सोही बेला पशुचौपायामा लम्पिस्किन रोगले गोरु नै मर्ने अवस्था आयो । यसका कारण पनि समयमा रोपाइँ सम्पन्न हुन सकेन‘ कृषक रणबहादुर थापाले भन्नुभयो ।
जिल्लामा पछिल्लो समयमा हात्ते ट्र्याक्टरको समेत प्रयोग बढे पनि सबै खेतमा ट्र्याक्टरले धानरोपाइँ नहुने भएकाले रोपाइँमा समस्या देखिएको कृषि ज्ञान केन्द्र जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मुलपानी, याकुलगायतका क्षेत्र धानका लागि पकेट क्षेत्र मानिएको छ । (रासस)