काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले घुमिफिरी वर्गशत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्रप्रति सचेत आग्रह गर्नुभएको छ ।
समाजवाद अध्ययन केन्द्र नेपालद्वारा २०८० साउन ६ गते शनिबार आयोजित “समाजवाद बहस र सङ्घर्ष” विषयक कार्यक्रममा उहाँले व्यवहार र सिद्धान्त सोचे जस्तो नभएकाले मुलुकको आवश्यकता, धरातल र यथार्थ बुझेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो– ‘कतिपय कम्युनिष्ट पार्टी प्रतिगामीसँग हातेमालो गरिरहेका छन् । दलभित्रका कमीकमजोरी र सीमालाई बुझुन आवश्यक छ ।’
पुँजीवाद अस्तित्वको सङ्कटमा पुगेको र मुलुक समाजवाद हुँदै साम्यवादमा प्रवेश गर्ने निश्चित रहेको बताउँदै अध्यक्ष नेपालले उग्रवामपन्थ र दक्षिणपन्थको भासमा डुबेका कम्युनिस्टलाई ठिक मार्गमा हिँडाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
विश्वमा कम्युनिस्ट पार्टी धरमराइरहेको अवस्थामा नेपालमा भने लोकप्रिय दलका रूपमा उदाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले व्यक्तिवादी प्रवृत्ति र विकृतिलाई समयमै चिरफार गर्न सकिएन भने अनेक चुनौतीको सामना गर्नुपर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुसाल, नेकपा (एकीकृत समाजवादी)ं का केन्द्रीय सदस्य अशेष घिमिरे, खुला विश्वविद्यालयका डिन डा खगेन्द्र प्रसाईं, आयोजक संस्था समाजवाद अध्ययन केन्द्रका अध्यक्ष अर्जुन राईलगायतले मन्तव्य राख्नुभएको थियो ।
हिजो, आज र भोलिका लागि समाजवादी अभियन्तामा समर्पित भनिएको उक्त कार्यक्रममा अध्यक्ष नेपालले र नेतृ भुसालले “समाजवाद : बहस र सङ्घर्ष” नामक पुस्तक सार्वजनिक गर्नुभएको थियो ।
पुस्तकमा अध्यक्ष नेपाल, पूर्व प्रधानमन्त्रीद्वय डा बाबुराम भट्टराई र झलनाथ खनाल, राम कार्की, जगन्नाथ खतिवडा, डा विजय पौडेल, प्राडा पिताम्बर शर्मालगायत १५ जना व्यक्तिका कृतिमा समेटिएको छ