काठमाडौँ । गत राति रोल्पा र पर्वतमा चट्याङ पर्दा रोल्पामा एक जना वडा सदस्यको निधन भएको छ भने पर्वतमा पाँच जना घाइते भएका छन् ।
रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ कुइपाधाराका ४९ सदस्यीय वडासदस्य दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो ।
चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उहाँले बताउनुभयोे ।
यता, पर्वतका दुई छुट्टाछुट्टै स्थानमा गत राति परेको चट्याङमा पाँच जना घाइते हुनाका साथै एक घरमा क्षति पुगेको छ ।
जिल्लाको फलेबास नगरपालिका वडा नम्बर ३ शङ्कर पोखरीस्थित टारीका दयाराम पङ्गालीको घरम चट्याङ पर्दा तीन जना घाइते भएका थिए । गत राति करिब १२ बजेको समयमा भिषण वर्षासँगैको चट्याङ परेर ३० वर्षीया शर्मिला रिजाल, २५ वर्षीय होमनाथ रिजाल र २७ वर्षीय नवीनप्रसाद रिजाल घाइते हुनुभएको थियो ।
उहाँहरूको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिनुभयो ।
घाइतेहरूको अवस्था सामान्य रहेको छ । चट्याङले पङ्गालीको दुई तले घरको दुईओटा कोठामा पूर्ण क्षति पुर्याएको छ भने टिभी, मिटरबक्सलगायत विद्युतीय सामग्री नष्ट भएका छन् ।
त्यसैगरी, महाशिला गाउँपालिका वडा नम्बर ६ फलामखानीमा पनि चट्याङमा परी दुई जना घाइते भएका छन् । बिहीबार राति करिब १२ बजेको समयमा परेको चट्याङले स्थानीय ५० वर्षीया उमादेवी सुनार र उहाँकी छोरी ३० वर्षीया रेखा सुनार घाइते हुनुभएको वडाध्यक्ष गोविन्द विकले जानकारी दिनुभयो ।
उहाँहरूको खुट्टा र कानमा चोट लागेको र स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उहाँको भनाइ थियो ।
चट्याङ लागेर फलामखानीको पात्ला र ढडेनका सात घरमा विद्युत्को मिटर बक्स जल्नुका साथै एक बाख्रोसमेत मरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको वडाध्यक्ष विकले बताउनुभयो । (रासस)