विष्णु शर्मा ##
मेरो हजुर हजुरका हातमा ठेला उठाएर
मेरा हात मेहन्दीले रङ्गाउनु छैन मलाई ।
हजुरसँग अनाहकमा झगडा गरेर
हाम्रो पवित्र सम्बन्ध बङ्गाउनु छैन मलाई ।।
हजुरको मेरुदण्ड अचाक्ली खियाएर
नाडीभरि महङ्गा चुरा लाउनु छैन मलाई ।
वरपरका दिदीबहिनी जम्मा गरेर
हजुर विरुद्ध कुरा लाउनु छैन मलाई ।।
हजुरका खुट्टा पट्पटी फुटाएर
महङ्गा पाउजु लाउनु छैन मलाई ।
मेकअपले सिँगारिँदै बिछट्टै बसेर
मालिक्नीले झैँ कजाउनु छैन मलाई ।।
हजुरको निधार र गर्दनलाई गलाएर
घाँटीमा महङ्गो हार लगाउनु छैन मलाई।
हजुरको शरीर साहुको घरमा बन्दगी राखी
बहुमूल्य पोसाक चाहिएको होइन मलाई ।।
मेरो हजुरका आँखाभरि आँसु राखी
अङ्ग बेचिएको हाँसो चाहिएको हैन मलाई ।
बाबुनानीको पढाइलाई चटक्कै माया मारी
हुनेखानेहरूको सिको गर्नु कदापि छैन मलाई ।।
हजुरलाई मानसिक दु:ख र पीडाहरू दिई
हजुरको स्वास्थ्य जीर्ण बनाउनु छैन मलाई ।
थरी थरी चाडपर्वको नाममा ऋणमा पारी
हजुरलाई समाजमा घृणा बनाउनु छैन मलाई ।।
तिज आयो भनी दुई महिना पहिल्यैदेखि
दिदीबहिनीसँग दरमा रमाउनु छैन मलाई ।
हजुर भने सधैँजसो काममा भोकभोकै हिँडी
त्यतिविधि स्वतन्त्र छोडिदिने होइन मलाई ।।
हजुरले शोषितपीडितलाई सङ्गठित गर्ने
यो एउटै इच्छाको घाँटी रेट्नु छैन मलाई ।
हजुरलाई साथ दिएर सहयोद्धा बन्नुको सट्टा
गन्तव्यमा तगारोको आरोप खेप्नु छैन मलाई ।।

