काठमाडौँ । नेपालको रेलसेवा थप १७ किमि बढेको छ । त्यस क्रममा जनकपुरधामको कुर्थादेखि महोत्तरीको भङ्गहासम्म रेल सेवा नियमति सञ्चालन हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले २०८० असार ३१ गते आइतबार जनकपुर–जयनगरदेखि महोत्तरीको भङ्गहासम्म चल्ने रेलसेवालाई हरियो झन्डा देखाएर सुचारु गरेका छन् ।
मन्त्री ज्वालाले हरियो झन्डा हल्लाएपछि भङ्गहा स्टेसनबाट जयनगरका लागि रेल गुडेको छ । यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुँदै आएको थियो ।
आइतबारदेखि थप १७ किलोमिटरमा रेल सेवा सञ्चालन भएको मन्त्री ज्वालाले बताए ।
अब महोत्तरीको भङ्गहादेखि जनकपुर हुँदै जयनगरसम्मको ५२ किलोमिटरमा रेल सेवा सञ्चालन हुने छ ।
भारत सरकारको आर्थिक सहयोगमा भारतीय कम्पनी इरकनले १७ किलोमिटर विस्तार गरेको थियो भने १८ जेठमा नेपाल रेल्बे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।