जेनेभा । संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्ममा एड्सको नियन्त्रण अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरे मात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।
“एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकि यसले लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण र असमानताहरूको सामना गर्न प्रगतिलाई रोक्छ’ एचआइभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम (युएनएड्स) ले भनेको छ ।
एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भन्नुभयो– “हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौँ तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ ।”
संयुक्त राष्ट्र सङ्ले २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रूपमा अन्त्य गर्ने लक्ष्य २०१५ मा लिएको थियो ।
ब्यानिमाका अनुसार एचआइभी अर्थात् एड्स गराउने भाइरसबारे सबैभन्दा ठुलो प्रगति ती देश र क्षेत्रमा भइरहेको छ, जसले कडा लगानी गरेका छन् ।
उहाँले पूर्वी र दक्षिणी अफ्रिकालाई उद्धृत गर्दै भन्नुभयो– ‘ती मुलुकमा २०१० यता नयाँ एचआइभी सङ्क्रमण ५७ प्रतिशतले घटेको छ ।’
बोत्सवाना, इस्वातिनी, रुवान्डा, तान्जानिया र जिम्बाब्वेले ९५ प्रतिशत लक्ष्य हासिल गरिसकेका छन् । यसको अर्थ एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतलाई आफ्नो अवस्था थाहा छ । (रासस/एएफपी)