काठमाडौँ । अन्तरजातीय विवाह गरेकोमा आगलागी गरिएको जुम्ला घटनाको सन्दर्भमा विवाह गर्ने मुकुन्द नेपाली र वसन्ती गिरीको जिउधनको रक्षा गर्न माग गरिएको छ ।
जातीय समता समाजसहितका नौ दलित सङ्गठनले २०८० असार २२ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै यस्तो माग गरिएको हे ।
वक्तव्यमा आगलागीमा संलग्न वसन्तीका दाजु हिक्मत गिरीलाई प्रहरीले पक्राउ गरे पनि प्रशासनले गल्तीको ढाकछोप गर्ने प्रयास गरिएको भन्दै विरोध गरिएको छ ।
गत असार १७ गतेको सो घटनामा अन्तरजातीय विवाह गर्ने मुकुन्द नेपालीको घर क्षतिग्रस्त हुनुका साथै ६५ लाख बढीको क्षति भएको उल्लेख गर्दै वक्तव्यमा त्यसबापत् क्षतिपूर्ति दिन र घटनास्थलका २८ घरमुली दलित समुदायलाई पनि पूर्ण सुरक्षा दिनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
त्यसैगरी, प्रेसवक्तव्यमा गोरखा आरुघाटमा अन्तरजातीय विवाह गरेको दुई महिनापछि जबर्जस्ती करणीको झुटा मुद्दा लगाइएकोमा विरोध गरिएको छ ।
एवम् प्रकारले बैतडी, कास्की, सिराहा, दाङलगायत देशका विभिन्न भागमा दलित समुदायमाथि जातीय भेदभावका घटना घटाइँदै झुटा मुद्दामा फसाइएकोमा भत्र्सना गरिएको छ ।
उनीहरूले यस्ता घटनाको छानबिन गर्नुका साथै दोषीमाथि कारबाही गर्न आग्रह गरिएको छ ।
प्रेसवक्तव्यमा जातीय समता समाजका महासचिव भक्त विश्वकर्मा, नेपाल दलित सङ्घका संयोजक शम्भुहजारा पासवान, नेपाल उत्पीडित जातीय मुक्ति समाजका सचिव टेक घटानी, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपाली, नेपाल दलित मुक्ति सङ्गठनका अध्यक्ष गणेश विश्वकर्मा, श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सिं, जातव्यवस्था उन्मूलन मोर्चाका अध्यक्ष शान्ति गजमेर, नेपाल समाजवादी दलित मुक्ति सङ्गठनका इन्चार्ज राजाधर सुनार र नेपाल दलित मुक्ति मोर्चाका प्रतिनिधि शोभा सेन्चुरीको हस्ताक्षर रहेको छ ।
