विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका उद्धव थापा नियुक्त हुनुभएको छ ।
प्रदेशप्रमुख पर्शुराम खापुङले २०८० असार २१ गते बिहीबार थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखखापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभयो ।
प्रदेशप्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ भने भोलि बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।
को हुन् थापा ?
२०३२ सालताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गर्नुभएका थापा नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित हुनुभएको थियो ।
२०३६ को जनमत सङ्ग्रहमा निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहनुभएको थियो ।
अर्जुनधारा नगरपालिका–७ निवासी बुबा हेमबहादुर थापा र आमा डम्बरकुमारी थापाको एक्लो छोराका रूपमा २०१४ मङ्सिर १५ गते जन्मनुभएका नवनियुक्त मुख्यमन्त्री थापाले २०४६ सालमा पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
मुख्यमन्त्री थापाले वाणिज्यशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।