काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चवापत ५५ लाख रुपैयाँ भन्दा बढी निकासा गरेको छ ।
परराष्ट्र मन्त्रालयले राष्ट्रपति पौडेलको उपचार खर्चवापतको बिलअनुसार ५५ लाख २ हजार २७९ रुपैयाँ रकम माग्दै सोमबार अर्थ मन्त्रालयमा पत्र पठाएको हो। सोमबार परराष्ट्रले लेखेको उक्त पत्र मंगलबार अर्थ मन्त्रालयमा पुगेको छ।
उपचार खर्च निकासाका लागि भन्दै परराष्ट्रले अर्थलाई लेखेको पत्रमा राष्ट्रपतिको उपचार खर्चको बिल भरपाई भुक्तानीका लागि पेश भएको जनाएको छ।
‘त्यसअनुसार उक्त रकम भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयको उपचार लगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ को सहमति प्राप्त भएको छ’, परराष्ट्रको पत्रमा भनिएको छ, ‘तसर्थ, उक्त कार्यक्रमका लागि भएको यथार्थ खर्चको बिल भरपाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख २ हजार २७९ मात्रै तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाइएको छ। असार १८ गतेको सचिवस्तरको निर्णयको प्रतिलिपि र अन्य आवश्यक कागजात यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिन्छ।’
गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गर्दा लागेको खर्चबारे उनको सचिवालयले विज्ञप्ति निकालेर राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैं ब्यहोर्ने बताएको थियो ।
प्रेस संयोजक खिला कार्कीले निकालेको उक्त विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति आफैंले बेहोर्ने इच्छा व्यक्त गरेको उल्लेख थियो।
‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ कार्कील निकालेको विज्ञप्तिमा भनिएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत वैशाख ६ गते भारत गएका राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किएका थिए।
उनलाई वैशाख ६ भारत लैजाँदा श्री एयरको जहाजलाई एयर एम्बुलेन्सका रुपमा प्रयोग गरिएको थियो। उपचारपछि उनीसहितको टोली वैशाख १७ गते नेपाल एयरलाइन्सको जहाजबाट फर्किएको थियो।
त्यसबेला राष्ट्रपति पौडेलको उपचारका लागि सहयोगीका रुपमा ११ जना दिल्ली गएको विवरण पनि परराष्ट्र मन्त्रालयले अर्थमा पठाएको छ।
राष्ट्रपतिसँग उनकी पत्नी र छोरा, २ जना नाति, शिष्टाचार महापाल, सुरक्षाकर्मीसहित ११ जना दिल्ली गएको पनि पत्रमा जनाइएको छ।