काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । सोमबार थप दुई जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या नौ पुगेको हो ।
प्रहरीले सोमबार रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको सीआईबीका एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए।
पोखरेल समरजङ कम्पनीका तत्कालीन प्रमुख हुन्। महर्जन नक्कली मोही भएको एसएसपी आचार्यले बताए।
यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जना पक्राउ परेका थिए।
गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले पनि हिरासतमै छन्।
सीआईबीले यही आइतबार काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो।
सीआईबीले यसअघि पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो।
पक्राउ परेका गुरुङसहित तीन जनाले पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेका छन्।