काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसई) को नतिजा आगामी असार २२ गते शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
अहिले परीक्षाफल प्रकाशनको अन्तिम काम भइरहेको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । त्यस आधारमा सो मिति निश्चित गरिएको छ ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले दाबी गरे– ‘आगामीने २२ गते शुक्रबारसम्म एसइर्ई नतिजा सार्वजनिक गर्न सक्छौँ ।’
एसइईको नतिजा कुन लेटर ग्रेडिङअनुसार सार्वजनिक गर्ने भन्ने विषयमा भने अझै निर्णय नभइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सरकारले २०७८ फागुन १८ गते संशोधन गरेको लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनैपर्छ ।
सैद्धान्तिकतर्फ कुनै विषयमा ३५ भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड) लेखिने र कक्षा ११ पढ्न नपाउने र एनजी लेखेको नतिजा भएका विद्यार्थीलाई मूल प्रमाणपत्र नपाउने व्यवस्था छ ।
बोर्डले गत वर्षको एसइईको नतिजा कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएको भन्दै ननग्रेडेड लागु नगर्ने निर्णय गरेको थियो । त्यसअनुसार शैक्षिक सत्र २०७८ को एसइईको नतिजा अक्षराङ्कन (ग्रेडिङ) विधि अनुसार भएको थियो । उक्त विधि अनुसार ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले नतिजा सार्वजनिक हुनुअघि बोर्ड निर्णय गरेअनुसार नतिजा सार्वजनिक गरिने बताए ।
उनले भने– ‘त्यो बोर्डले गर्ने निर्णय हो । बोर्डले कुन ग्रेडिङ सिस्टमबाट नतिजा सार्वजनिक गर्ने निर्णय गर्छ ? त्यहीअनुसार हुन्छ ।’
गत २०७९ चैत १७ गतेदेखि २९ गतेसम्म भएको एसइई परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए ।