पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्धको अनुसन्धान आगामी दिनमा अझै तीव्र हुने दाबी गर्नुभएको छ ।
२०८० असार १६ गते शनिबार दिउँसो पोखराका सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले यस्तो दाबी गर्नुभएको हो ।
भ्रष्टाचार देशको विकराल समस्या भएको बताउँदै उहाँले यससम्बन्धी अनुसन्धानलाई थप तीव्रता दिइने बताउनुभयो ।
‘भ्रष्टाचार देशको विकराल समस्या हो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ’ उहाँले भन्नुभयो– ‘सरकार थप तीव्रताका साथ अघि बढ्छ ।’
उहाँले भ्रष्टाचार विरुद्धको अनुसन्धानमा प्रहरी आफ्नै तरिकाले लागिरहेको बताउनुभयो ।
‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ’ उहाँले थप भनाइ थियो– ‘प्रहरीलाई सरकारले आवश्यक निर्देशन दिइरहेको छ । यो प्रक्रिया अगाडि बढिरहेको छ । निरन्तर अगाडि बढ्दै जाने छ ।’