काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले सरकारले भ्रष्टाचारका फाइल खोलेको छ भन्ने कुरा ‘त रोए जस्तो गर, म चिमोटे जस्तो गर्छु’ भने जस्तो भएको व्यङ्ग्य गर्नुभएको छ ।
उहाँले भन्नुभयो– ‘सरकारको अवस्था यस्तो छ कि जनताले यस्ता कुरा पत्याउँदैनन् ।’
२०८० असार १२ गते मङ्गलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले भ्रष्टाचारको छानबिन गरे जस्तो पहिले पनि हुने गरेको बताउनुभयो ।
‘तँ रोए जस्तो गर, मैले चिमोटे जस्तो गर्छु’ भन्ने कुरा पहिलाको सरकारले पनि गर्थे । त्यस्ता काम अहिले पनि हुन्छन्’ उहाँले भन्नुभयो– ‘ठुला ठुला भ्रष्टाचार नेपालमा अहिले पनि भइरहेका छन् । भ्रष्टाचारका फाइल खोलिनुपर्छ ।’
अध्यक्ष केसीले नेपालमा ठुला ठुला भ्रष्टाचार राज्यपक्षबाटै भइरहेकोसमेत दाबी गर्नुभयो ।
उहाँले नेपाली जनताले भ्रष्टाचारीलाई जोगाउनुहुँदैन भनिरहेको भए पनि भ्रष्टाचारी समातिने कुरा आफूलाई विश्वास नलागेको बताउनुभयो ।
एउटा फाइल निकालेर तर्साउने काम यसअघिका सरकारले पनि गरेको भन्दै उहाँले नेपाली जनतालाई यसमा विश्वास नरहेको बताउनुभयो ।
‘भ्रष्टाचारका फाइल सरकारले खोलिरहेको छ भनेर नेपाली जनताले पत्याउँदैनन्’ उहाँले भन्नुभयो– ‘अलि अलि गरे जस्तो देखाउने एउटा कुरा हो । के गरी गर्लान् ? मलाई विश्वास लाग्दैन ।’
भ्रष्टाचारी जोगाउनु हुँदैन भन्ने नेपाली जनताको माग भएको बताउँदै उहाँले भ्रष्टाचारीले राज गरेको कारणले मुलुक गणतन्त्र आइसकेपपछि पनि अन्यौलपूर्ण अवस्थामा रहेको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो– ‘भ्रष्टाचारका कारणले गणतन्त्रप्रति जनताको आस्था घटेको छ ।’