काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणका थप एक जना पक्राउ परेका छन् ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० का २४ वर्षीय आशिष बुढाथोकीलाई २०८० असार १२ गते सोमबार प्रहरीले मण्डिखाटारबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले १२ जना फरार अभियुक्तमध्येका बुढाथोकीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरीका अनुसार बुढाथोकीको बैङ्क खातामा नक्कली शरणार्थी प्रकरणका बिचौलियाले उठाएको रकम जम्मा गरेको भेटिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा अभियुक्त रहेकामध्ये अझै ११ जना फरार रहेका छन् ।
यसअघि यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत १६ जना जेल चलान भइसकेका छन्।
टङ्क गुरुङ र लक्ष्मी महर्जन काठमाडौँ अदालतको आदेशमा धरौटीमा छुटिसकेका छन् ।