काठमाडौँ । नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बिआरआई परियोजनाअन्तर्गत भएको बताउनुभएको छ ।
२०८० असार ६ गते बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
यसअघि विमानस्थल उद्घाटनको क्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गत बनेको बताउनुभएको थियो । कार्यक्रममा उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरूले डिजाइन गरेको बताउनुभयो ।
सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सी.ए.एम.सी.ई. बिचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण सुरु भएको थियो ।
सी.ए.एम.सी.ई. सँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो ।
पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैङ्कसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।
