काठमाडौँ । बझाङमा भएको सडक दुर्घटनामा घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।
बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आजै २०८० असार ५ गते मङ्गलबार मन्त्री सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए ।
दुर्घटनामा मन्त्री सिंहकी पत्नी र भाउजूको समेत मृत्यु भएको छ ।
मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजू ६० वर्षीया जयादेवी सिंह प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको केदारस्युँ गाउँपालिका–१ का अध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए ।
दुर्घटनामा कानुनमन्त्री सिंह, उनकी पत्नी अमृता, भाउजू जयासहित चालक ३५ वर्षीय धर्मराज जोशी र पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारी गम्भीर घाइते भएका थिए । घाइते दुई जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
मङ्गलबार दिउँसो बझाङ केदारस्यु गाउँपालिका १ झारछडा स्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो ।
डडेल्धुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्बी बहादुर सिंहसहित ५ जना सवार थिए ।
गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालङ्गा नदीको किनारमा खसी दुर्घटना भएको हो ।
