काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समाजवादी मोर्चा किन चाहियो भनी प्रश्न गर्नुभएको छ ।
२०८० असार ३ गते आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले यति चाँडै अर्को मोर्चा किन बनाउनुपर्यो भनी प्रश्न गर्नुभएको हो ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा नाममा सहकार्य गर्न लागेका हुन् ।
केसीले लोकतन्त्रमा राजनीतिक दलहरूका बिचमा मोर्चा बनाउन पाइने टिप्पणी गर्नुभयो । उहाँले सत्तारूढ दलहरूसँगको आफ्नो पार्टीको गठबन्धन लोकतन्त्र र गणतन्त्र जोगाउने शर्तमा भएको भन्दै सो गठबन्धन भने कायमै रहने बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘उहाँहरूसँग हाम्रो गठबन्धन लोकतन्त्र जोगाउने शर्तमा हो । यदि लोकतन्त्र नभएको भए अहिले तपाईंले र मैले यति कुरा गर्न सक्थ्यौँ ? लोकतन्त्रको पक्षमा उहाँहरू छउन्जेली हाम्रो सहकार्य हुन्छ । मतभेद कैयौँ छन् । लोकतन्त्र, गणतन्त्र जोगाउने उहाँहरूको जहिलेसम्म नीति रहन्छ, त्यतिखेर हाम्रो सहकार्य चल्छ ।’
आइतबार बसेको चार दलको बैठकले सोमबार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहितको १५ बुँदे प्रतिबद्धता तय गरेको छ ।
दलहरूले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने सहमति गरेका हुन् ।
‘मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने छन् । यस मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने छ’ मोर्चाको सहमतिपत्रमा भनिएको छ ।