सन्तोष सुनार, सन्धिखर्क ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सदस्य मानबहादुर नेपालीको निधन भएपछि गच्छेघाटमा दाहसंस्कार गरिएको छ ।
झन्डै एक महिनादेखि अर्घाखाँची जिल्ला अस्पतालमा भर्ना हुनुभएका नेपालीको २०८० असार १ गते शुक्रबार दाहसंस्कार गरिएको हो ।
नेपालीको शवमाथि राजमो जिल्ला अध्यक्ष थम्मन केसीले पार्टीको झन्डा ओढाउनुभएको थियो ।
जिल्ला अध्यक्ष केसीले श्रद्धाञ्जली दिँदै स्मृतिशेष नेपालीले लामो समयदेखि राजमोले उठाएका विभिन्न आन्दोलनमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएको बताउनुभएको थियो ।
दाहसंस्कारस्थलमा अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द बिसी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, वडाअध्यक्ष दिलदार हुसेन, सचिव वशन्त खडका, जनपत्रकार सङ्गठनका अनिल नेपाली, राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला सदस्य सन्तोष सुनारसहित वडाबासीको उपस्थिति रहेको थियो ।
दाहसंस्कारपूर्व उहाँको श्रद्धाञ्जलीस्वरूप एक मिनेट मौनधारण गरिएको थियो ।
रोजगारीका लागि भारतको पन्जाबमा रहेका छोरा फर्केपछि उहाँको दाहसंस्कार गरिएको हो ।
६५ वर्षीय स्मृतिशेष नेपाली सन्धिखर्क नगरपालिका वडा नं. ७ भुजुङेमा बस्दै आउनुभएको थियो ।