गुवाहटी (भारत) । भारतको आसाममा बाढीका कारण २९ हजार प्रभावित भएका छन् ।
आसाम राज्य बिपत् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बिहीबार आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको हो ।
एएसडिएमएले आसाम र अरुणाचल प्रदेशमा लगातारको वर्षाका कारण धेरै नदीमा पानीको स्तर बढ्दै गएको र लखिमपुर, धेमाजी, डिबु्रगढ, कछार, नलबारी र कामरूप (मेट्रो) जिल्लाका १० प्रशासन केन्द्रअन्तर्गत २५ गाउँ र अन्य क्षेत्रमा बाढीको पानी पसेको जनाएको छ ।
आसाम राज्य बिपत् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) को बाढी प्रतिवेदनअनुसार बाढी प्रभावित जिल्लामा २१५.५७ हेक्टर खेतियोग्य जमिन डुबानमा परेको छ ।
लखिमपुर जिल्लामा मात्रै एक हजार २१५ बालबालिकासहित २३ हजार ५१६ जना प्रभावित भएका छन् ।
एएसडिएमएका अनुसार बाढी प्रभावित लखिमपुर जिल्ला प्रशासनले तीनओटा राहत वितरण केन्द्र स्थापना गरेको छ र बाढी प्रभावितको उद्धारका लागि उद्धार टोली परिचालन गरिएको छ ।
बाढीका कारण कुखुरासहित छ हजार ३०७ पशुचौपाया समेत प्रभावित भएका छन् । बिहीबार आएको बाढीले ढेमाई, विश्वनाथ, गोलपाडा र लखिमपुर जिल्लाका चारओटा तटबन्ध र चारओटा सडकमा क्षति पुर्याएको थियो ।
एएसडिएमएका अनुसार विगत केही दिनयता परेको वर्षाका कारण कछार र कामरूप (मेट्रो) जिल्लामा पनि केही पहिरोका घटना भएका छन् । (रासस/सिन्ह्वा)





