काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत श्रमजीवी पत्रकार/कर्मचारीलाई सेवाबाट निकालेको एवम् विभिन्न बहानामा मिडिया छाड्न र हटाउन दबाब दिइरहेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घले २०८० जेठ ३० गते मङ्गलबार विज्ञप्ति प्रकाशित गरी कान्तिपुर मिडिया गु्रपमा कार्यरत रहेका र हाल निकालिएका पत्रकार/कर्मचारीमध्ये केही महासङ्घको सम्पर्कमा आएका र केही पत्रकारको गुनासोसहितका निवेदन नेपाल पत्रकार महासङ्घलाई प्राप्त भएको जानकारी दिएको हो ।
‘स्थायी रूपमा काम गरेका पत्रकारलाई सेवासुविधाबिना हटाउने र करार/स्ट्रिन्जर पत्रकारको सम्झौता नवीकरण नगर्ने तथा स्थायी पत्रकारलाई स्ट्रिन्जर बस्न दबाब दिने एवम् राजीनामा दिन बाध्य पार्ने जस्ता क्रियाकलाप कान्तिपुर मिडिया गु्रपबाट हुनु दु:खद् हो’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यस किसिमका गुनासो प्राप्त भएपछि महासङ्घले तत्कालै यो कार्य रोक्न आग्रहसहित यसअघि नै कान्तिपुर मिडिया ग्रुपलाई पत्राचार गरेको थियो । महासङ्घले गरेको आग्रहलाई कान्तिपुर मिडिया ग्रुपले बेवास्ता गर्दै श्रमजीवी पत्रकार विरुद्ध काम गरेको छ ।’
श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गरेर पत्रकार/कर्मचारीको श्रमको सम्मान गरी सोअनुसार गरिनुपर्नेमा कान्तिपुर मिडिया ग्रुपले अपनाएको यो शैली अत्यन्त असान्दर्भिक र गैरकानुनी रहेको महासङ्घको ठहर छ ।
महासङ्घ यस खालका क्रियाकलाप तत्काल रोकी श्रमजीवी पत्रकार ऐनअनुसार गर्न कान्तिपुर मिडिया ग्रुपको ध्यानाकर्षण गराएको छ । साथै, अन्यायमा परेका श्रमजीवी पत्रकारलाई कानुनी उपचार र दबाबमूलक आन्दोलनका लागि महासङ्घमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।